सुप्रिम सहकारी प्रकरणमा रविको मुद्दामा सुनुवाइ सुरु
काठमाडौं – सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ ।
पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।
कास्की प्रहरी हिरासतमै रहँदा पक्राउ पुर्जी पाएपछि उनलाई कात्तिक २७ गते भैरहवा लगेर बयान लिइएको थियो। उक्त सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।
उक्त सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
























