मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
काठमाडौं । खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको हो ।
परिवर्तित नाम बृत्त नयाँ बानेश्वरको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले मुद्दा अघि बढाएका राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो ।
फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।
त्यसबेला जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर मुद्दाको अन्तिम छिनोफानोका क्रममा राई दोषी ठहर भएका हुन् ।
न्यायाधीश दाहालको इजालसले दोषी ठहर गरेका राईको कसुर ठहर र सजाय निर्धारणको लागि पेश गर्न पनि आदेश दिएका छन् ।
























