महोत्सवको तयारी पुरा, भोलि गृहमन्त्रीले उद्घाटन गर्ने

हेटौंडा । हेटौँडामा फागुन ६ गतेदेखि १८ गते सम्म संचालन हुने राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको तयारी पुरा भएको छ । सोमबार आयोजक निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले महोत्सवको तयारी पुरा भएको र भोली गृहमन्त्री रमेश लेखकले समुद्घाटन गर्ने बताउनु भयो । समुद्घाटनको अवसरमा भोली प्रबेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी, तथा उपभोक्ताका लागि तीन सय भन्दा बढी स्टल राखिएको जनाएको छ । मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहन प्रदान गर्न स्टल भाडामा २५ देखी ५० प्रतिशत छुट दिएको बताउँदै एक सय भन्दा बढी स्थानीय स्टल रहेको अध्यक्ष कंडेलले बताउनु भयो ।

हेटौँडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सवमा नेपालमै दोस्रो पटक फिस टनेलको प्रदर्शनी समेत हुने उनले बताए । महोत्सवमा निर्माण सामग्री, घरेलु उद्योग, महिला उद्यमी, कृषि उपज, नवीनतम निर्माण उपकरणहरु, जुत्ता चप्पल कपडा, होटल लगायत धार्मिक स्वास्थ्यका स्टलहरु रहने जनाइएको छ ।

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुती रहनुका साथै ‘हेटौँडा आइडल’ प्रतियोगिता हुने अध्यक्ष कंडेलले बताए । आइडलमा १६ जना छनौट भएका छन् । महोत्सव अवधिभर ३ करोड बराबर कारोबार हुने अनुमान आयोजकको रहेको छ । महोत्सवलाई भव्य बनाउन २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ समिति गठन भएको संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईले बताए । महोत्सवको प्रवेश शुल्क विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७५ रुपैयाँ तोकिएको उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा हुन लागेको महोत्सव औद्योगिक शान्ति नेपालसँगको सहकार्यमा गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*