हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा बागमती प्रदेश राजधानी हेटौंडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ ।

मंगलबार हेटौंडा–१० स्थित टिसीएन चौरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको बताए । सोही उद्देश्यका साथै मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेको बताए ।

दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको समीकरण निर्माण भएको उनले बताए । गृहमन्त्री लेखकले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा सुशासन, विकास र समृद्धि कायम गर्नु अहिलेको सरकारको मुख्य कार्यभार भएको स्पष्ट पारे ।

यसैगरी, गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको उल्लेख गरे । निजी क्षेत्रलाई व्यावसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको भन्दै उनले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताए ।

‘सरकारले व्यवसायीहरूले गरेको कामको भुक्तानी दिन सरकारले सुरु गरिसकेको छ । व्यवसायी साथीहरू ढुक्क हुनुहोस् बाँकी रहेको बक्यौता पनि तत्काल दिन्छौँ’, गृहमन्त्री लेखकले भने ।

मंगलबारबाट सुरु भएको मेला यही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा तीन सय स्टल रहेको छ । मेलामा नवीनतम निर्माण उपकरण तथा सामग्री, स्थानीय तथा राष्ट्रिय कम्पनीका साथै बहुर्राष्ट्रिय कम्पनीका औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामग्री, महिला उद्यमीद्वारा उत्पादित सामग्री बिक्री वितरणका लागि राखिएका छन् । महोत्सवमा हेटौंडा आइडल प्रतियोगिता, स्थानीय कलाकारहरुको प्रस्तुती र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*