डढेलो नियन्त्रणका लागि मकवानपुरका २१० वटा सामुदायिक वनमा स्वयम् सेवक परिचालन
हेटौंडा । मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन गरिएको छ । सुख्खायाम बढेसंगै डढेलो लाग्न थालेका छन् । त्यसको नियन्त्रणका लागि प्रत्यक सामुदायिक वनमा स्वयंसेवकहरु परिचालन गरिएको छ ।
आगलागीका घटना न्यूनीकरण गर्न स्वयम्सेवक क्रियाशील बनेका छन् । मकवानपुरमा बर्सेनी हुने आगलागी तथा डढेलोको घटनालाई निवारणका लागि स्वयम् सेवक खटिएका हुन् । डिभिजन वन कार्यालय मकवानपुर मार्फत स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना सुरु भएको हो । स्वयमंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्नीरेखा निर्माण र नियन्त्रित डढेलोको काम सुरु गरिएको डिभिजन वन कार्यालय मकवानपुरका योजना अधिकृत तथा डढेलो नियन्त्रण कार्यका फोकल पर्सन हेम कुमार पाठकले बताए ।
यस डिभिजन कार्यालय अन्तरगत रहेका २१० वटा सामुदायिक वनमा डढेलो लाग्ने कामको सुरुवात देखिनै यसलाई न्यूनीकरण गर्ने अभियानमा लागिएको उनले बताए । यस वर्षको यो अवधि सम्म अहिले सम्म यहाँका सामुदायिक वनमा आगलागीको घटनाका बारेमा आफुहरुकहाँ जानकारी नआएको योजना अधिकृत पाठकले बताए ।
उनले भने –‘वनका उपभोक्ताहरुलाई पन्चवर्षे कार्ययोजना बनाएर काम कागरेका छौं । डढेलोको पूर्व तयारीका लागि उपभोक्ता र डिभिजन वन कार्यलय र स्थानीय तहले काम गर्दै छन् । अग्नीरेखाहरु पनि बनाइरहेको छ । नियन्त्रीत डढेलो लगाउने काम गरिरहेको छ ।’
























