प्राथमिक तहको शिक्षकलाई नियुक्तिपत्र वितरण

हेटौंडा । शिक्षक सेवा आयोगको आ.व २०८०/८१ को परीक्षामा सहभागी भई मकवानपुर जिल्लाबाट उत्तीर्ण भएका २ सय ७ जनामध्ये १ सय ९९ जनाले प्राथमिक तहको शिक्षकको रुपमा नियुक्ति लिएका छन् ।

आयोगको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले हेटौँडामा आइतबार एक समारोहका बीच नियुक्तिपत्र वितरण गरेको छ । परीक्षामा सफल भएका मध्ये ८ जना आइतबार अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो ।

आइतबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता साथै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशेष आतिथ्यतामा नियुक्तिपत्र वितरण गरिएको हो । नियुक्तिपत्र वितरणपछि इकाई प्रमुख गिरीले प्राथमिक तहमा नियुक्त शिक्षकहरुलाई सपथ गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपाने,एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष वसन्त राई, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बाको आतिथ्यता रहेको थियो ।

नियुक्तिपत्र बुझेका शिक्षक अब सम्बन्धित पालिकामा सम्पर्क गरी विद्यालयमा पुग्नेछन् । हेटौँडा उपमहानगरपालिकामा ८ जना, थाहा नगरपालिकामा ३९ जना, भीमफेदी गाउँपालिकामा २० जना, बागमती गाउँपालिकामा १० जना, कैलाश गाउँपालिकामा ३७ जना, बकैया गाउँपालिकामा ३३ जना, मनहरी गाउँपालिकामा १० जना, राक्सिराङ गाउँपालिकामा ३२ जना, इन्द्रसरोवर गाउँपालिकामा ११ र मकवानपुरगढी गाउँपालिकामा ७ जनालाई नियुक्त गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*