सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति

काठमाडौं । सरकारसँग भएको ९ बुँदे सहमतिसँगै २९ औं दिनदेखि जारी शिक्षकको सडक आन्दोलन फिर्ता भएको छ ।
विगतका सहमति र सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भएको छ ।
शिक्षक महासंघले सहमतिपछि विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न अनुरोध गरेको छ ।
शिक्षामन्त्री र सरोकारवालामन्त्रीसमेतको उपस्थितिमा लगातार ३ दिनको वार्ता बुधबार सहमतिमा टुंगिएको हो । ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्बाट स्वीकार गरिएको साथै प्रक्रियामा गई कार्यान्वयन गर्ने क्याविनेटपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।
यी नौ बुँदामा भएको थियो सहमति
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२. अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायीरकरार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।
४. आगामी आव २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा ९राहत, अस्थायीरकरार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा०का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने ।