कलाकार र पत्रकार पुरस्कृत

हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस २०८२ को अवसरमा तीन जनालाई पुरस्कृत गरेको छ । चलचित्र पत्रकार अनन्त वाग्ले, रंग संयोजक रेनिस फागो र सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको हो ।

संघले शनिबार आयोजना गरेको विशेष कार्यक्रममा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट नगद रु. ११,१११ सहित सम्मान गरिएको हो। तीन दशकदेखि छापा पत्रकारितामा सक्रिय वाग्ले हाल ‘विश्व घटना च्यानलमा आवद्ध छन् ।

त्यस्तै, स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ रंग संयोजक रेनिस फागोलाई प्रदान गरिएको छ। मकवानपुरमा जन्मिएका फागोले चलचित्र, साहित्य, कला तथा संगीतमा राष्ट्रियस्तरमा योगदान पुर्‍याउँदै आएका छन्। उनले प्रेम गीत सिरिज, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार जस्ता चर्चित चलचित्रहरूमा रंग संयोजन गरिसकेका छन् ।

रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित गरिएको छ। दुई दशकभन्दा बढी समयदेखि रेडियो पत्रकारितामा सक्रिय रहेका अधिकारी मकवानपुर जिल्लाको सञ्चार क्षेत्रमा स्थापित नाम हुन् ।

कार्यक्रममा बालकलाकार शुपला सापकोटालाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । उनले बोक्सीको घर चलचित्रबाट अभिनय यात्रा सुरु गर्दै चर्चा कमाएकी हुन्। संघको स्थापना वि.सं २०५६ जेठ ७ गते भएको स्मरण गर्दै हरेक वर्ष चलचित्र पत्रकारिता दिवस मनाउने गरेको छ ।

कार्यक्रम संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा चलचित्र पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका–६ का अध्यक्ष विष्णु दाहाल, ब्रॉडकास्टिङ एसोसिएसन अफ नेपाल वान का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, संघका सल्लाहकारहरू रुपेश दुलाल, सुशान्त श्रेष्ठ, अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमा प्रवन्धक नवराज आचार्य, ओम्याक्स हलका सञ्चालक राम राजभण्डारी, रंगकर्मी भोलाराज सापकोटा, उज्वल शर्मा भण्डारी, चलचित्र नरसिंहा अवतार का निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाल लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*