ज्ञानप्राप्तका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७, मामदमारस्थित ज्ञानप्राप्त प्राथमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक सामग्री पाएपछि अनुहारमा मुस्कान छाएको छ । आइतबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरूलाई कापी, कलम, विद्यालय पोशाक तथा झोला वितरण गरिएको हो ।
हेटौंडा–११ मा रहेको ग्रामीण असहाय बालबालिका पुनर्स्थापना केन्द्रले शैक्षिक सामग्री वितरण गरेको हो । लामो समयदेखि मकवानपुर जिल्लामा शैक्षिक क्षेत्रमा क्रियाशील उक्त संस्थाले ग्रामीण क्षेत्रका असहाय तथा विपन्न बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विद्यालयकी प्रधानाध्यापक शोभा राईका अनुसार सामग्री वितरणपछि विद्यार्थीहरू निकै खुशी भएका छन्। “विद्यार्थीहरूमा निकै उत्साह देखिएको छ, यस्तो सहयोगले उनीहरूलाई पढाईमा रुचि बढाउन थप प्रेरणा मिल्नेछ,” राईले बताउनुभयो। साथै उक्त संस्थाले यो पहिलो चरणको सामाग्री दिएको र पुनः अन्य शैक्षिक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानाध्यापकले बताउनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक स्याङ्तान,ग्रामीण असहाय बालबालिका पुनर्स्थापना केन्द्रका मान बहादुर वाइबा,समिक्षा बि.क, शिक्षक अभिभावक संघका सदस्यहरु, शिक्षक, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो।
























