ग्यास लिक भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु
कपिलवस्तु । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास सिलिन्डर लिक भएर लागेको आगोमा परेर दाजु–बहिनीको ज्यान गएको छ।
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साँझ खाना पकाउने क्रममा ग्यास रेगुलेटर लिक भई आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका २५ वर्षीय दाजु शिव कुमार यादव गम्भीर रूपमा घाइते भएका थिए।
आगो घरनजिकै रहेको गोठमा समेत फैलिएको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई उपचारका लागि राति नै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पुर्याइएको थियो।
सोनमको उपचारकै क्रममा भैरहवामा मृत्यु भएको हो भने शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।
























