मकवानपुरको थाहानगरमा बस दुर्घटना : तीनको मृत्यु
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार अपरान्ह बस दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् । बज्रबाराहीको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर सडकमा हिँडिरहेका छ जनालाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी कार्यमा संलग्न कृष्ण बलामी र त्यही विद्यालयका अर्का शिक्षक रघुनन्दन यादवको मृत्यु भएको हो ।
घाइते ठाकुर र बलामीको पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको हो भने यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा बाराको जितपुर सिमराका करिब ३२ वर्षीय छेयाङ दोर्जे लामा र कोल्हवी निवासी करिब ३० वर्षीय शिक्षक रामगुलाम चौधरी घाइते भएका छन् । उनीहरूको पालुङमै उपचार भइरहेको छ भने अर्का घाइते कमलेश कुमार साहको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा बसले थाहा नगरका उप–प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुर्याएको थियो। बस पैदलयात्रीलाई ठक्कर दिएर सोही घरको पर्खालमा गएर ठोक्किएको थियो ।
























