हेटौंडामा विश्व वातावरण दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाइने

हेटौंडा ।टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष ध्रुव अधिकारीले ‘प्लास्टिक प्रदूषण नियन्त्रण गरौं’ भन्ने मूल नाराका साथ भोलि शुक्रबार जेठ १६ देखि जेठ २२ गतेसम्म विविध कार्यक्रमसहित ५३ औं विश्व वातावरण दिवस मनाउन लागिएको जानकारी दिए ।

कार्यक्रमको उद्घाटन शुक्रवार हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रमबाट हुनेछ । शनिबार ‘सफा हेटौंडा अभियान’ अन्तर्गत नगरका टोल विकास संस्थाको सहभागितामा वृहत सरसफाइ कार्यक्रम गरिनेछ । आइतबार हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसमा हेटौंडा सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता र प्रकृति संवाद यात्रा आयोजना गरिने जनाइएको छ।

सोमबार हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा बोतलसँग बीरुवा साट्नेू कार्यक्रम सञ्चालन गरिनेछ । मंगलबार हेटौंडा–४ को रोयल पार्टी प्यालेसमा जलवायु सचेतना सम्बन्धी प्यानल छलफल र फिल्म स्क्रिनिङ गरिनेछ भने हेटौंडा–८ को चन्द्रोदय माविमा वृक्षारोपण कार्यक्रम हुनेछ ।

बुधबार रोयल पार्टी प्यालेसमा विद्यालयस्तरीय पुनः प्रयोग गरिएका वस्तुहरूको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनेछ । सोही दिन उपमहानगरपालिकाको सभाहलमा यदि म हेटौंडाको मेयर भएँ भने मेरो सहरलाई कसरी सफा र प्लास्टिकमुक्त बनाउँछु भन्ने विषयमा भिडियो प्रतियोगिता गरिनेछ । सप्ताहव्यापी कार्यक्रमको समापन बिहीबार जेठ २२ वातावरणीय सचेतनामूलक र्याली, सम्मान तथा पुरस्कार वितरण समारोहसहित गरिनेछ ।

कार्यक्रम अन्तरगत गरिने विभिन्न प्रतियोगितामा विजेता हुनेहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरूप १० हजार, ७ हजार ५ सय र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने र सान्त्वना स्थान हासिल गर्ने सहभागीलाई १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*