जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारको राइड सेयरिङसम्बन्धी निर्णयविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि गाडी थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका छन्।
व्यवसायीहरूले निजी सवारीलाई सार्वजनिक यातायातसरह प्रयोग गर्न दिनु संविधान र कानूनविपरीत भएको आरोप लगाउँदै सोमबारदेखि गाडी ग्यारेजमा थन्क्याउने निर्णय गरेका हुन् ।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सात वटा संगठनको सहभागिता रहेको छ।
संविधानको धारा ५७ र सवारी ऐन २०४९ विपरीत नीजि सवारीलाई यात्रु ओसार्ने अधिकार दिनु न्यायसंगत नभएको उनीहरूको तर्क छ । पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकारबाट सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताइएको छ ।
संगठित व्यवसायीहरूले विज्ञप्ति जारी गर्दै २०८२ जेठ १९ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द गर्ने बताएका छन् । यात्रु र सरोकारवालालाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनीहरूको भनाई छ ।
























