प्लास्टिकका बोत्तलसँग बिरुवा साटियो

हेटौँडा । विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज  हेटौंडा उपमहानगरपालिका–९ मा “प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान” सम्पन्न भएको छ ।

टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा(९ र पशुपति हेल्थ क्लबको संयोजनमा भएको थियो । कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रयोग गरिएका प्लास्टिकका बोत्तल संकलन गरी फलफूलका बिरूवा वितरण गरिएको थियो ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिका आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि लामाले कार्यक्रम अत्यन्तै रचनात्मक र प्रभावकारी भएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “प्लास्टिकको प्रयोग न्यून गर्दै हरियाली बढाउने यस्ता कार्यक्रम अत्यन्त प्रेरणादायी छन्। यस्तो कार्यक्रम प्रत्येक वडामा सञ्चालन गर्न जरुरी छ, त्यसका लागि म नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

कार्यक्रममा २२० जना नागरिकहरूले प्रयोग गरिएका प्लास्टिकका बोत्तलहरू संकलन गरेर, ५ वटा बोत्तल बराबर १ वटा फलफूलको बिरुवा प्रदान गर्ने व्यवस्था अनुसार फलफूलका बिरूवा प्राप्त गरेका थिए। वितरण गरिएका बिरूवाहरूमा आँप, अमला, अम्बा, कागती, लिची आदि फलफूलका बिरूवाहरू थिए।

कार्यक्रममा स्थानीय टोल विकास संस्थाहरू,महिला समूह, युवा समूह र सामाजिक संघसंस्थाहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बताएअनुसार, “यो अभियान केवल बोत्तल संकलनको कार्यक्रम होइन, वातावरणप्रतिको हाम्रो जिम्मेवारी र भविष्यप्रति प्रतिबद्धता हो। आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ।”

संकलित प्लास्टिकका बोत्तललाई सुरक्षित र वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्दै पुनः प्रयोगयोग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइने जानकारी आयोजकहरूले दिएका छन्।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि २० गते बिहान ११ बजे र जलवायु सचेतना समस्या र समाधानमा समुदायको भुमिका र हाम्रो प्रयास प्यानल डिस्कसन र फिल्म स्क्रिनिङ र साँझ ४ः३० बजे हेटौंडा–८ चन्द्रोदय मा.वि मा वृक्षारोपण कार्यक्रम आयोजना हुने अध्यक्ष ध्रुब प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*