विलासिता कर र भ्याट खारेजीको माग गर्दै मकवानपुर सुनचाँदी व्यवसायी संघ
हेटौंडा । देशभरका सुनचाँदी व्यवसायीहरूले नयाँ बजेटमा सुन, बहुमूल्य पत्थर र गरगहनामा लगाइएको करको विरोधमा आन्दोलन सुरु गरेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा अन्य बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
यसै सन्दर्भमा सोमबार मकवानपुर सुनचाँदी व्यवसायी संघले हेटौंडामा शान्तिपूर्ण विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ। विरोधस्वरूप मकवानपुरका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरिएको थियो।
संघका अध्यक्ष पवन शाक्यको नेतृत्वमा व्यवसायीहरूको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
“विलासिता कर र भ्याटका कारण व्यवसाय प्रभावित हुन थालेको छ,” अध्यक्ष शाक्यले बताए। “हामी यसप्रति गम्भीर रूपमा असन्तुष्टि जनाउँदै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्छौं। आवश्यकता परे देशभरका व्यवसायीहरू मिलेर थप सशक्त आन्दोलन गर्ने तयारीमा छौं,” उनले थपे ।
र्याली संघको कार्यालयबाट सुरु भई हेटौंडा बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर सम्पन्न भएको थियो। व्यवसायीहरूले प्लेकार्ड र व्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए ।
व्यवसायीहरूको भनाइमा सरकारको यो कदमले मूल्यवृद्धि निम्त्याउने, उपभोक्ताको क्रयशक्ति घटाउने र पारम्परिक व्यवसाय तहसनहस पार्ने देखिएको बताए ।
सरकारले व्यवसायीहरूको मागलाई कत्तिको गम्भीरतापूर्वक लिन्छ भन्ने कुराले आगामी आन्दोलनको स्वरूप निर्धारण गर्ने संघले जनाएको छ ।
























