विलासिता करको विरोधमा सुनचाँदी पसल बन्द
हेटौंडा,३१ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत सुनमा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेपछि देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको पहिलो चरणअन्तर्गत व्यवसायीहरूले बिहीबार र शुक्रबार दुई दिनका लागि सम्पूर्ण पसल बन्द गरेका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको थियो। मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवनकुमार शाक्यले सुनको मूल्यमा पहिल्यै अत्यधिक वृद्धि भइसकेको अवस्थामा थप करले उपभोक्तामाथि प्रत्यक्ष भार पर्ने बताए। उनले भने, “सुन अब विलासिताको हैन, आवश्यकताको वस्तु हो । यस्तो अवस्थामा कर थप्नु व्यवहारिक निर्णय होइन।”
मकवानपुरका व्यवसायीहरूले पसल बन्द गर्दै आफ्ना माग उल्लेख गरिएका व्यानर टाँसेर विरोध जनाएका छन्। आन्दोलनका क्रममा उनीहरूले भन्सार कर १० प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित गर्न माग गरेका छन् । साथै, हीरा–पत्थरमा सरकारले लागू गरेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट पनि तत्काल खारेज गर्न माग गरिएको छ ।
सुनचाँदी व्यवसायी महासंघले सरकारसँग सुनचाँदी कारोबारसम्बन्धी स्पष्ट र दीर्घकालीन नीति तय गर्न माग गर्दै आएको छ। आन्दोलनको औपचारिक शुरुवात सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै गरिएको थियो।
























