मकवानपुरगढी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

मकवानपुर । मकवानपुरगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित गरिएको छ। मंगलबार एक विशेष समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार जेष्ठ २५ गतेसम्मका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेका आधारमा गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको मान्यता पाएको हो ।

घोषणासँगै जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक दोर्जे लामा स्याङ्तानको अध्यक्षता रहेको थियो ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले प्रमाणपत्र गाउँपालिका अध्यक्ष स्याङ्तानलाई हस्तान्तरण गरेका थिए। साथै, खोप समन्वय वडा समिति र वडा तहका स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेका अनुसार, गाउँपालिकाका सबै वडामा पूर्ण खोप घोषणा भइसकेपछि समग्र गाउँपालिका नै पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, विभिन्न वडाका जनप्रतिनिधि, शाखा प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था, रेडक्रस, टोल विकास संस्था तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*