हेटौंडामा युवा उद्यमी रोजगार महोत्सव हुदै
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रोजगारीमैत्री महोत्सव आयोजना हुने भएको छ । ‘बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२’ नाम दिइएको दुईदिने कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन गरिने भएको हो ।
महोत्सव असार १४ र १५ गते हेटौंडा–२ स्थित पल्पसा सभागृहमा आयोजना हुनेछ । कार्यक्रमका बारेमा जानकारी दिँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले महोत्सवमा तीन दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारीको खोजीमा रहेका स्थानीय युवालाई कम्पनीहरूसँग प्रत्यक्ष अन्तर्वार्ताको अवसर उपलब्ध गराइनेछ ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाँईले महोत्सवमा हेटौंडा र देशभरका बेरोजगार युवा तथा प्लस टु तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको बताउनुभयो ।
महोत्सवमा सहभागी उद्योगहरूले अन द स्पट जब अफर दिन सक्नेछन् । साथै, व्यवसायमा चासो राख्ने युवाहरूका लागि बजारीकरण तालिम, व्यवसायिक परामर्श, बैंक कर्जा प्रक्रियाको जानकारी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू समेत समावेश गरिनेछ । श्रम र रोजगारसँग सम्बन्धित विविध विषयमा विज्ञहरूसँग प्यानल छलफल समेत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्रीले असार १४ गते गर्ने कार्यक्रम तय भएको छ । आयोजकले महोत्सवमा सहभागी भई रोजगारी र उद्यमशीलता सम्बन्धी अवसरको लाभ लिन सम्पूर्ण युवाहरुलाई आग्रह गरेका छन्।
























