पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालत काठमाडौंले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । बुधवार दिनभरको बहसपछि अदालतले सो आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘‘…..तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी माधव कुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि नगदै रु,३५,००,०००।– पैँतिस लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नू । उल्लिखित माग गरिएको धरौटी रकम वा बैंक जमानत दिन नसके विशेष अदालत नियमावली २०५० को नियम ३० को उपनियम २ बमोजिम निज प्रतिवादीलाई थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिनू ।’’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
























