वैदेशिक रोजगारीमा महिलाको सहभागिता बढ्दो
हेटौंडा । सुरक्षित आप्रवासन परियोजना (सामी) मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि महिलाको सहभागिता अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ ।
विहीबार हेटौंडामा आयोजित सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै सामी परियोजनाकी संयोजक अञ्जिता थापा मगरले चैत मसान्तसम्ममा मकवानपुरबाट ३ हजार महिलाले श्रम स्वीकृति लिएर विदेशिएको जानकारी दिनुभयो। सोही अवधिमा पुरुषको संख्या ८ हजार २ सय ५७ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म ११ हजार २ सय ५७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांक सामी परियोजनाले सार्वजनिक गरेको हो । यद्यपि कुल संख्यामा महिलाको अनुपात अझै कम देखिए पनि अघिल्ला वर्षहरूमा तुलनामा यो वृद्धि सकारात्मक रहेको परियोजनाको भनाइ छ ।
परियोजनाका अनुसार यस आर्थिक वर्षमा सामी स्रोत केन्द्रमार्फत ७ हजार २ सय ६६ जनामा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी प्रवाह गरिएको छ । तीमध्ये ८७ प्रतिशतको मुख्य उद्देश्य रोजगारीकै खोजी रहेको पाइएको छ ।
परियोजनाले सूचना पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरताजस्ता सेवाहरू प्रदान गर्दै आएको संयोजक मगरले जानकारी दिनुभयो ।
चालु आवको अवधिमा परियोजनामा वैदेशिक रोजगारीसम्बन्धी १३३ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ४७ वटा समस्याको समाधान गरिएको छ । यस्तै, ठगीसम्बन्धी ५३ उजुरीमध्ये ३२ घटनाको समाधान गरी पीडितलाई १५ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति दिलाइएको जानकारी समेत उहाँले दिनुभयो ।
परियोजनाका अनुसार वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत १० लाख रुपैयाँ र गम्भीर दुर्घटनाबाट अपांगता भएमा ७ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने व्यवस्था छ ।
हाल मकवानपुरमा ६ जना मनोपरामर्शकर्तामार्फत मानसिक परामर्श सेवा सञ्चालनमा रहेको छ । चालु वर्षमा ७४ महिला र १३ पुरुषले सो सेवा लिएको परियोजनाले जनाएको छ ।
कार्यक्रममा बोल्दै सामी परियोजनाका फोकल पर्सन भीमप्रसाद तिमल्सिनाले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू अर्धदक्ष र अदक्ष हुने भएकाले जोखिमपूर्ण कार्य गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो । साथै, ठगी, पारिश्रमिक शोषण, मानसिक तनाव, डिप्रेसन र आत्महत्याका घटनामा समेत वृद्धि भइरहेको उहाँको भनाइ थियो ।
विदेशिने कामदारहरू मुख्यत: संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, कोरिया र बहराइन जस्ता देशमा जाने गरेको परियोजनाले जनाएको छ।
























