विद्यालय शिक्षा विधेयक : सहमति जुटाउन सरकारलाई ५ दिनको समय
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।
आज बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले अझै छलफल जारी रहेको भन्दै विधेयक पारितका लागि थप समय माग गरेका थिए । तर, अधिकांश सांसदहरूले भने विधेयक तत्कालै पारित गर्न जोड दिए । समितिका सभापति अम्मरबहादुर थापाले ५ दिनभित्र सहमति गरेर ल्याउन सरकारलाई समय दिएका हुन् ।
“पाँच दिनभित्र सहमति ल्याएर आउनुस्, म पनि बैठक बोलाउन एक दिन अघिको तयारी चाहिन्छ,” सभापति थापाले बैठकमा भने ।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समिति बैठक स्थगित गरिएको थियो । अहिले शिक्षक महासंघसँग वार्ता जारी रहेको जनाउँदै मन्त्री पन्तले फेरि समय मागेका हुन् ।
विद्यालय शिक्षा विधेयकमा केही विवादास्पद विषयमा अझै सहमति जुट्न नसक्दा समितिबाट पारित गर्ने प्रक्रिया प्रभावित हुँदै आएको छ । अबको पाँच दिनभित्र सहमति जुटेमा विधेयक अघि बढ्ने सम्भावना रहेको छ ।
























