शंकरज्योतिलाई वाटर फिल्टर तथा डिस्पेन्सर

हेटौंडा । हेटौंडा–११ सिमलटारस्थित शंकरज्योति माध्यमिक विद्यालयलाई टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले आफ्‌नो २५ औं स्थापना दिवस तथा रजत महोत्सवको विशेष अवसरमा इलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग प्रदान गरेको छ ।

विद्यालयपरिसरमा आयोजित विशेष समारोहबीच समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् । अध्यक्ष अधिकारीले भने–टोलविकास संस्था नगर समन्वय समितिले समाज रुपान्तरणका विभिन्न पक्षहरुमा समर्पित भावनाले काम गर्दै आएको छ । शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुच हुनु विद्यार्थीहरुको स्वास्थ्य र सिकाइ दुवैका लागि महत्वपूर्ण हुन्छ । संस्थाले गरिरहेका यस्ता साना प्रयासहरु सामूहिक प्रभावका हिसाबले निकै अर्थपूर्ण छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिजालले टोलविकास संस्था नगर समन्वय समितिप्रति आभार व्यक्त गर्दै भने–स्वस्थ्यकर पानी पिउन पाउनु हरेक विद्यार्थीको आधारभुत आवश्यकता हो । यस किसिमको सहयोगले विद्यार्थीहरुलाई स्वस्थ्य राख्न, सिकाइमा प्रेरणा दिन र विद्यालयको वातावरण अझ सकारात्मक बनाउन सघाउनेछ ।

कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समिति उपाध्यक्ष सति न्यौपाने,  सचिव चन्द्रावति पनेरु, टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य र विद्यालयका शिक्षकलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यहरुको निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रमले विद्यालय र समुदायबीच सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*