शिक्षा संकाय अध्ययन गर्नेलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले निशुल्क अध्यापन, रोजगारी र पकेट खर्च दिने

हेटौंडा । देशभरि शिक्षक अभाव चुलिंदै गएको सन्दर्भमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ‘सीपयुक्त शिक्षक उत्पादन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी शिक्षा संकायमा निशुल्क अध्यापन गराउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल पुरन बहादुर जोशीले कार्यक्रमबारे जानकारी दिँदै अंग्रेजी, नेपाली, विज्ञान र गणित विषयमा ३० जना विद्यार्थीलाई निशुल्क पढाइ गरिने योजना रहेको बताए । हालसम्म १२ जना विद्यार्थीले भर्ना फारम बुझाइसकेका छन् । कक्षा श्रावण ११ गतेदेखि सुरु हुनेछ ।

कार्यक्रम म्यानेजमेन्टको नेतृत्वमा संचालन हुनेछ भने नवोदय शिशु सदनले स्कुल ल्याबको भूमिका, र नवोदय इनोभेशन सेन्टरले शैक्षिक परामर्श र मार्गदर्शनको जिम्मेवारी लिने बताइएको छ ।

प्रिन्सिपल जोशीका अनुसार विद्यार्थीहरूले बिहान ४ घण्टा कक्षा सञ्चालन हुने कार्यक्रममा दैनिक दुई विषय अध्ययन गर्नेछन् । प्रत्येक शुक्रबार पुस्तक परिचर्चा, शिक्षा संवाद जस्ता रचनात्मक कार्यक्रम समावेश गरिने छ, जसले विद्यार्थीको भाषा सीप, आलोचनात्मक सोच र शिक्षण रुचि विकास गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम सहभागीले हप्तामा दुई दिन विशेषज्ञ शिक्षकबाट परामर्श, निशुल्क खाना, र नियमित उपस्थिति भएका विद्यार्थीलाई मासिक एक हजार  पकेट खर्च प्रदान गरिने विद्यालयले जनाएको छ ।

साथै, सिकाइलाई अझ प्रभावकारी बनाउन हरेक हप्ता तालिम, टिचिङ बुट क्याम्प, कार्यशाला र अन्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । सहभागी विद्यार्थीको आवश्यकता र क्षमताका आधारमा उपयुक्त रोजगारीको व्यवस्था समेत गरिने जानकारी दिइएको छ ।

विद्यालयले यो कार्यक्रममार्फत शिक्षण पेशामा युवाको आकर्षण बढाउने, गुणस्तरीय शिक्षक उत्पादन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*