हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर तथा “प्लास्टिक छोडौँ” अभियान सम्पन्न
हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्स र लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका–७ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा “प्लास्टिक छोडौं” अभियान शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रम पञ्चमुर्ति आयुर्वेदिक क्लिनिकको सह–आयोजनामा सम्पन्न भएको हो।
लायन निप्पु सार्राफ र लायन रिता वाइवाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन अमला, एभोकाडो र तेजपत्ताजस्ता आयुर्वेदिक बिरुवा हस्तान्तरण गर्दै गरिएको थियो ।
स्वास्थ्य शिविरमा करिब १५० जना स्थानीय बासिन्दाले सहभागिता जनाएका थिए । शिविरमा विभिन्न आयुर्वेदिक विधिबाट स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, जीवनशैली तथा आहारसम्बन्धी जानकारी प्रदान गरिएको थियो । सहभागीहरूका अनुसार शिविरले समुदायमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रममा लायन ताशी डोल्मा तुम्माहाम्बे, लायन शम्भु नकर्मी, एरिया चिफ समिता रसाइली, रिजन चियरपर्सन लायन निलम देवकोटा, जोन चियरपर्सन लायन राज सापकोटा, लायन प्रमेश्वर पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्जन पौडेल, पतञ्जली प्रतिनिधि, वन उपभोक्ता समितिका प्रतिनिधि तथा स्थानीय सरोकारवाला र स्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सकी सचिव लायन सपना कडेलले गर्नुभएको थियो ।
यसै अवसरमा सञ्चालित “प्लास्टिक छोडौं” अभियान अन्तर्गत लक्ष्मीनारायण मन्दिर क्षेत्र वरपर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो । सो अभियानमार्फत वातावरणीय सन्देशसहित जनचेतनामूलक गतिविधिहरू गरिएको थियो । सरोकारवाला निकायहरूको उत्साहजनक सहभागिताले वातावरणीय सरसफाइ र प्रदूषण न्यूनीकरणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
























