प्रशासन विरुद्ध हेटौंडाका जनप्रतिनिधि आन्दोलित
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आज आन्दोलनमा उत्रिएका छन् ।
करिब एक महिनाअघि जनप्रतिनिधि माथि भएको आक्रमणको अभियुक्त हालसम्म पनि पक्राउ नपरेपछि हेटौंडा उपमहानगरका वडाअध्यक्षहरु आक्रोशित बनेका हुन् ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेमाथि गत असार ४ गते दिउँसो कार्यकक्षभित्रै अपरिचित समूहले आक्रमण गरेको थियो । आइतबार घटना घटेको १ महिना बितिसक्दापनि प्रहरी प्रशासनले आक्रमणकारी लाई पक्राउ गर्न नसकेकोप्रति घोर आपत्ति जनाउँदै वडा अध्यक्षहरुले आन्दोलन सुरु गरेका हुन् ।
प्रशासन र प्रहरीको काम कारबाहिप्रति जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय परिसरमै सांकेतिक कार्यालय स्थापना गरेर प्रदर्शन सुरु गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बाँनियाको नेतृत्वमा सुरु भएको आन्दोलनमा हेटौंडाका १९ वटा वडाका अध्यक्षहरु सहभागी रहेका छन् । पहिलो चरणमा दुई दिनसम्म प्रशासन कार्यालय अगाडी सेवा प्रवाह गर्ने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने उपमहानगरका प्रवक्ता सवीन न्यौपानेले बताउनुभयो ।
























