बंशगोपाल माध्यमिक विद्यालयको १९ औं अभिभावक भेला सम्पन्न

हेटौंडा । हेटौंडा–६ स्थित बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को १९ औं अभिभावक भेला सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न  कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै मन्त्री खड्गीले विद्यालय तहमै पूर्वव्यावसायिक शिक्षा तथा नैतिक शिक्षालाई अनिवार्य रूपमा समावेश गर्नु आवश्यक रहेको बताउँदै यसले विद्यार्थीको व्यवहार, ज्ञान र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयको आगामी योजना र कार्यक्रमहरूबारे जानकारी दिनुभयो ।

सोहि अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक रमेश प्रसाद लामिछानेलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

भेलामा सहायक प्रधानाध्यापक रविन्द्रकुमार गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालनको भूमिका शिक्षक माधवप्रसाद गौतमले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत हरिचन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार गुरुप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*