मुख्यमन्त्री लामाले बागमती कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाए

सत्ता समीकरणमा नयाँ मोड

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका रूपमा रहेका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वास गुमाएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्र खस्दा, विपक्षमा २२ जना सांसद उभिए ।

सांसदहरूका अनुसार बहुमतले साथ नदिँदा लामा संसदीय दलको नेताबाट स्वतः हटेका हुन् । अब इन्द्रबहादुर बानियाँलाई नयाँ नेता बनाउने प्रयास सुरु भएको छ । बानियाँ कांग्रेसका प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका सभापति पनि हुन् ।

यद्यपि संसदीय दलको नेताबाट बाहिरिएका लामाले मुख्यमन्त्री पद भने नछोड्ने अडान दोहोर्‍याएका छन् । पराजयपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले भने, ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुन दलको नेता हुनैपर्छ भन्ने छैन ।’ लामाले पार्टीभित्रकै नेताहरूले षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

उनले लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिने भए आफू त्यसमा सहभागी हुने स्पष्ट पारे । ‘म संसदीय दलको नेता अब छैन, तर सरकारबाट हट्नुपर्ने कुनै संवैधानिक वा राजनीतिक आधार छैन,’ लामा भने ।

कांग्रेसभित्र देखिएको आन्तरिक शक्ति संघर्षसँगै अब बागमती प्रदेशको सत्ता समीकरणमा परिवर्तन आउने प्रष्ट देखिएको छ । लामाको राजीनामा नआए पनि बानियाँको पक्षमा बहुमत देखिएकाले नयाँ सरकार गठनको बाटो खुलेको विश्लेषण गरिएको छ । अबको राजनीतिक समीकरण कुन दिशातर्फ मोडिन्छ भन्ने विषयमा चासो बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*