अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु
चितवन – अमलेखगञ्ज–लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नमबर १ लोत्थरमा आज कार्यालय उद्घाटनसँगै पाइपलाइनको काम शुरु भएको हो । पाइप लाइनसहित भण्डारणस्थलको काम ५४ महिनामा सकिने नेपाल आयाल निगमका उपनिर्देशक एवम् आयोजना प्रमुख प्रदीपकुमार यादवले बताउनुभयो ।
अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन सञ्चालनमा रहेको छ । अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनको दूरी ६२ किलोमिटर हुने छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गको समानान्तर पाइपलाइन राखिने छ । पाइपलाइन तयार भएपछि मोतिहारीबाटै लोथरमा पनि पेट्रोलियम पदार्थ पठाइने निगमले जनाएको छ ।
पाइपलाइनबाट प्रति घण्टा २ सय ७३ किलो लिटर तेल प्रवाह हुने छ । वर्षमा दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने पाइपलाइनको क्षमता भएको यादवले बताउनुभयो । पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन निगमले आठ वर्ष अघि नै लोथर खोला आडमा जग्गा किनेको थियो ।
निगमगले १४ अर्ब नौ करोड ६० लाख रुपैयाँको लागतमा पाइपलाइन र भण्डारस्थल बनाउन लागेको हो । पाइपलाइनमा चार अर्ब २८ करोड ८० लाख रुपैयाँ र भण्डारगृहको लागत नौ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ ।
परियोजनामा भारतको पाँच अर्ब रुपैयाँ र बाँकी लगानी नेपाल आयल निगमको हुने परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो । भण्डारगृहमा पेट्रोल, डिजल, मटितेल र हवाइइन्धन गरी ९१ हजार नौ सय किलो लिटर पेट्रोलियम पदार्थ राख्न सकिने गरी ट्याङ्की निर्माण हुने छन् ।
























