हेटौँडामा देशकै नमुना प्रादेशिक कृषि थोक बजार उद्घाटन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजार आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्माण गरिएको उक्त आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा गरे । सोही अवसरमा बजारको जिम्मेवारी उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँ लागत अनुमानसहितको पाँच तल्ले योजना भए पनि हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको छ । भवनको बेसमेन्टमा सवारी पार्किङको व्यवस्था गरिएको छ भने भुइँ तल्लामा २० वटा सटर, चार वटा कार्गो लिफ्ट र दुई वटा यात्रु लिफ्ट रहेका छन् । पहिलो तल्लामा पनि थप २० वटा सटर रहेका छन् ।

रिटेल सपिङका लागि छुट्टै भवन निर्माण गरिएको छ, जसको भुइँ तल्लामा ११ वटा सटर, दुईवटा कार्गो लिफ्ट तथा पहिलो तल्लामा १२ वटा सटर छन् । साथै किसानहरूका लागि २३२ वर्गमिटर क्षेत्रफलमा टहरा बनाइएको छ ।

उक्त परियोजनाअन्तर्गत ५०० मेट्रिक टन भण्डारण क्षमताको कोल्ड स्टोरेज पनि निर्माण गरिएको छ, जसले प्रदेशभित्र उत्पादन हुने कृषि उपजको दीर्घकालीन भण्डारण र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महाशाखा प्रमुखहरू, कृषि क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरू, व्यापारी, कृषक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आधुनिक प्रविधियुक्त यो कृषि बजारले प्रदेशभरिका किसानहरूलाई उचित मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न सक्ने सुनिश्चितता प्रदान गर्ने र कृषि उपजको प्रभावकारी व्यवस्थापनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*