गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा
हेटौंडा । गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते आइतबार सम्पूर्ण प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको निर्णयअनुसार सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार बिदाको व्यवस्था गरिएको जानकारी दिइन् ।
गाईजात्रा विशेषगरी नेवार समुदायद्वारा मनाइने एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो पर्व काठमाडौं उपत्यकाका साथै ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरलगायत नेवार समुदायको बाक्लो बसोबास भएका जिल्लाहरूमा धूमधामका साथ मनाइन्छ ।
मृत व्यक्तिको आत्माको शान्तिको कामना गर्दै गाईजात्रामा गाई वा गाईसरह सिँगारिएका व्यक्तिहरूलाई नगर परिक्रमा गराइने परम्परा छ । नेवार समुदायको मौलिक संस्कृति झल्काउने यो पर्व बागमती प्रदेशको सांस्कृतिक विविधता र समावेशी चरित्रको प्रतीकका रूपमा लिइन्छ ।
यसअघि गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र स्थानीय बिदा दिइने गरिन्थ्यो । तर अबदेखि बागमती प्रदेशभित्र पर्ने सबै जिल्लामा यो पर्वका लागि समान रूपमा सार्वजनिक बिदा लागू गरिनेछ ।
























