मङ्गलवारदेखि तराईमा भारी वर्षाको सम्भावना
काठमाण्डौ । मङ्गलवारदेखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।
यसैको प्रभावले मङ्गलवार दिउँसोपछि मधेश प्रदेशका केही ठाउँमा अतिभारीसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा गराउने उहाँको भनाइ छ । बुधवारदेखि पश्चिमतर्फ बढी वर्षा हुनेछ ।
महाशाखाका अनुसार २४ घण्टामा २०० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानको जोखिम बढ्छ । भोलिदेखि हुने वर्षा तराई मधेशमा बढी हुने सम्भावना रहेकोले चरम खडेरीको मारमा परेका मधेशवासीलाई राहत हुने आशा छ । पछिल्लो हप्ता मधेशमा वर्षा भइरहेकोले पानीको उपलब्धतासँगै चर्को गर्मीको मार पनि घटेको छ ।
पछिल्लो २४ घण्टामा मधेशका धेरै जिल्लामा वर्षा भएको छ । धनुषाको तुल्सीमा १३७ मिलिमिटरभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । वर्षासँगै मधेशमा धान रोपाइँमा पनि सुधार भएको छ । अहिलेसम्म ८० प्रतिशत नजिक रोपाइँ भइसकेको प्रदेश सरकारले जनाएको छ । खडेरीले सुक्खा भएर धाँजा फाटेका मधेशका खेतहरूमा हरियाली देखिन थालेको छ ।
























