राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् ।
संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो। खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो ।
त्यसपछि विधेयक संसद्मा पुग्दै गर्दा विवादले उग्र रुप लियो । सुशासनका नाममा बनाइएका नियमहरू उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पनि संसदीय समितिले दिएको थियो ।
जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडाको भूमिकामा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पेश गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।
























