हेटौंडामै एमबीबीएस पढाई हुने, प्रतिष्ठानलाई ५० सिटको स्वीकृति
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा अबदेखि एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्र २०८२/८३ देखि एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट स्वीकृति दिएको छ ।
यस निर्णयसँगै हेटौंडाले स्वास्थ्य शिक्षाको नयाँ अध्याय सुरु गरेको छ । यसअघि नै प्रतिष्ठानले विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। बीएस्सी नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यस वर्ष सिट संख्या २० बाट बढाएर ३० पुर्याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ कार्यक्रमहरूमा भने २०/२० सिट कायम छन् । यस्तै, ब्याचलर अफ फार्मेसी कार्यक्रम ३० सिटमै निरन्तर सञ्चालन हुँदै आएको छ ।
स्नातक तहसँगै प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि महत्वपूर्ण फड्को मारेको छ । प्रतिष्ठानका अनुसार यसै शैक्षिक सत्रदेखि एमडी कार्यक्रम अन्तर्गत सात विषयमा कूल ८ सिटमा अध्ययन सुरु हुने छ । स्त्री तथा प्रसूति विषयमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट निर्धारण गरिएको छ ।
























