मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गिरोह पक्राउ

काठमाडौँ । मानव अंग मिर्गौला बेचबिखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

भारतको नयाँदिल्लीमा बसेर गैरकानुनी कार्यमा नाइकेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीका रूपमा रहेका सुजन भारतीलाई वीरगन्जबाट पक्राउ गरी संगठित अपराधअन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँदिल्ली लगेर गैरकानुनी रूपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

साउन ३० गते तीन जनालाई पक्राउ गरेर यस घटनामा संलग्नहरूको खोजी सुरु गरेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना पीडितले जाहेरी दिइसकेका छन् । यस घटनामा प्रहरीले ४ वटा मुद्दा दर्ता गरिसकेको जनाएको छ ।

सो गिरोहलाई संगठित अपराध ऐनअन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐनअन्तर्गत मानव बेचबिखन र गैरकानुनी रूपमा अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*