रूपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. थापा उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ ।

आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत रास्वपाले डा.थापालाई उम्मेदवार घोषणा गरेको हो । पार्टीका अनुसार विभिन्न चरणको आन्तरिक प्रक्रियामा प्रतिस्पर्धा गरेर थापाले प्राइमरी इलेक्सनमार्फत सबैभन्दा धेरै मत प्राप्त गर्दै उम्मेदवारीको टिकट प्राप्त गरेका हुन् ।

डा. थापा प्रख्यात न्युरोसर्जन हुन्। उनले इन्टर्नल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा डीएम अध्ययन गरेका छन् । हाल उनी महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरका प्रमुखका रूपमा कार्यरत छन् ।

उक्त क्षेत्रमा उम्मेदवार बन्न नौ जनाले आवेदन दिएका थिए । डा. थापासँगै शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले पनि उम्मेदवारीको आकांक्षा व्यक्त गरेका थिए ।

अन्य प्रतिस्पर्धीमध्ये मधुप्रसाद अर्याल क्षेत्रीय सभापति हुन् र शिक्षण क्षेत्रमा आबद्ध छन् । उनले अटिजम विषयमा पीएचडी गरेका छन् । ज्ञानु पौडेल सहकारी अभियन्ता हुन् भने कुसुम महर्जन २०७९ सालको निर्वाचनमा रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन् ।

रूपन्देही–३ लाई रास्वपाले संगठन विस्तार र जनमत निर्माणको अवसरका रूपमा लिएको बताएको छ ।

२०७९ सालको आमनिर्वाचनमा यस क्षेत्रमा रास्वपाले प्रत्यक्षतर्फ ५,७९६ मत प्राप्त गर्दै सशक्त उपस्थिति जनाएको थियो भने समानुपातिकतर्फ १४ हजार मत हासिल गर्दै तेस्रो स्थानमा परेको थियो । कुल करिब १ लाख ३० हजार मतदातामध्ये ९० हजारले मतदान गरेका थिए ।

रास्वपाले यो उपनिर्वाचनलाई आफ्नो राजनीतिक आधार अझ बलियो बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*