राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाले चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व छोनम न्वागीको अवसरमा भदौ २१, २२ र २३ गते ३ दिनको सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सो अवधिमा सबै शैक्षिक संस्था तथा सरकारी कार्यालयहरू बन्द रहने जानकारी दिएको छ । सूचना अनुसार, पर्वको महत्त्वलाई सम्मान गर्दै हर्षोल्लासका साथ मनाउन सबैलाई आग्रह गरिएको छ।

छोनम न्वागी पर्व चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पाकेपछि मनाउने परम्परागत पर्व हो । यस अवसरमा समुदायले भूमि पूजा, पितृ तर्पण, तथा सामूहिक भोज, नाचगान र सामाजिक मेलमिलाप गर्ने परम्परा रहेको छ ।

पर्वमा विशेषगरी घैयाँ धानको चामल, पिँडालु, निबुवा लगायतका अन्न र फलफूल प्रयोग गरिन्छ । नयाँ अन्न पितृलाई अर्पण नगरी खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक विश्वासका कारण यो पर्वलाई निकै श्रद्धाका साथ मनाइन्छ । चेपाङहरूले यस पर्वलाई ‘पान्देई घ्यासा’ भनेर पनि सम्बोधन गर्ने गर्छन् ।

यस पर्वमा ढ्याङ्ग्रो बजाउने, टीका लगाउने, आशीर्वाद दिने परम्परा पनि समावेश छन् । राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेकोले यो पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको हो ।

गाउँपालिकाले विगत वर्षहरूमा पनि यो पर्वमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*