सरकार र दुग्ध किसानबीच सहमति, बक्यौता भुक्तानी हुने
काठमाडौँ । आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग र सरकारबीच ६ बुँदे सहमति भएपछि दुग्ध किसानले आन्दोलन स्थगन गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र दुग्ध उत्पादनसँग सम्बन्धित विभिन्न संघ–संस्थाबीच भएको सहमतिपछि दशैंअघि बक्यौता रकम भुक्तानी गरिने स्पष्ट भएको हो ।
सहमति अनुसार, दुग्ध उत्पादक कृषकलाई असार मसान्तसम्मको बाँकी बक्यौता असोज ५ गतेभित्र, साउन मसान्तसम्मको असोज ३० गतेभित्र र भदौ मसान्तसम्मको रकम कात्तिक मसान्तभित्र भुक्तानी गरिनेछ। त्यसपछिका बक्यौता रकम नियमित रूपमा तिर्ने र भुक्तानी समयमै गर्नेलाई प्रोत्साहन गरिने सहमति पनि भएको छ ।
डुग्ध विकास संस्थान डीडीसी ले मात्रै किसानलाई करिब एक अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ । दूधको भुक्तानीका लागि डीडीसीले २०७८ यता अर्थ मन्त्रालयसँग १ अर्ब २५ करोड रुपैयाँ ऋण लिएको भए पनि किसानको बक्यौता अझै चुक्ता भएको छैन । यस्तो बेलामा किसानको भुक्तानीमा बेवास्ता गर्दै डीडीसी पोखरामा जग्गा किन्ने प्रक्रियामा लागेको भन्दै किसानले आक्रोश व्यक्त गरेका थिए ।
सरकारी तथा निजी डेरी उद्योगहरूसँग दुग्ध किसानको जम्मा झन्डै ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ । सहमतिपछि किसानहरूले सरकार र सम्बन्धित निकायलाई सहमति कार्यान्वयनमा गम्भीरता देखाउन आग्रह गरेका छन् ।
























