वन क्षेत्रलाई उद्योग र उत्पादनसँग जोड्नुपर्छः मन्त्री केसी
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार मकवानपुरको बागमती गाउँपालिका–१ राईगाउँ र वडा नं– ८ फापरबारीमा नव निर्मित दुई वटा सव डिभिजन वन कार्यालय भवन उद्घाटन गर्दै मन्त्री केसीले वनको सही उपयोगमार्फत नागरिकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
“हरियो वन नेपालको धन मात्रै होइन, अब यसको व्यवस्थित उपयोग गर्दै वन सम्बन्धी उद्योगमार्फत जनताको मुहार फेर्नुपर्ने समय आएको छ,” मन्त्री केसीले भन्नुभयो ।
उहाँले सामुदायिक वनहरूलाई उत्पादनसँग जोड्दै त्यसबाट उद्योग, कलकारखाना स्थापना गर्नुपर्ने र नागरिकलाई रोजगारी तथा आम्दानीसँग जोड्नुपर्ने धारणा राख्नुभयो। समृद्ध नेपालका लागि नागरिकको समृद्धि आवश्यक रहेको उल्लेख गर्दै उहाँले वन क्षेत्रलाई रोजगारीको अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 
साथै, मन्त्री केसीले नयाँ भवनबाट छिटो, छरितो र मुस्कानसहित सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा मात्र वन व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बागमती प्रदेशमा हालसम्म ३८ वटा यस्ता भवन निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा बागमती प्रदेश वन क्षेत्रको विकासमा अगाडि रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले वनको संरक्षण र प्रभावकारी उपयोगमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले सामुदायिक वनबाट संकलित रकम पारदर्शी ढंगले खर्च हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवशीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विद्यानन्द झालगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष चन्द्रवशीले उपस्थित सबैलाई धन्यवाद दिँदै सव डिभिजन कार्यालयले आगामी दिनमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भवन निर्माणमा लागतः करिब पाँच करोड रुपैयाँ
डिभिजन वन कार्यालय हेटौंडाद्वारा ठेक्का प्रक्रिया मार्फत निर्माण गरिएका राईगाउँ र फापरबारीका सव डिभिजन वन कार्यालय भवन निर्माणमा करिब पाँच करोड रुपैयाँ लागत लागेको छ ।
राईगाउँ कार्यालय निर्माणका लागि २ करोड ९६ लाख ३७ हजार ३५० रूपैयाँको ठेक्का आव्हान गरिएकोमा २ करोड ४९ लाख ४४ हजार १८८ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
त्यस्तै, फापरबारी कार्यालयको लागि २ करोड ९६ लाख ५६ हजार ९३८ रूपैयाँको ठेक्का आव्हान गरिएकोमा २ करोड २४ लाख २६ हजार ९११ रूपैयाँमा सम्झौता भई निर्माण सम्पन्न भएको हो ।
























