आइतबार बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
हेटौंडा । चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वागी छोनाम को अवसरमा आउँदो भदौ २२ गते आइतबार, बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइने भएको छ ।
बागमती प्रदेश सरकारले न्वागी पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसबारेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार सूचना जारी गर्दै जानकारी दिएको छ ।
यसअघि, बागमती प्रदेश मन्त्रिपरिषद्को चैत २१ गते बसेको बैठकले चेपाङ समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न न्वागी पर्वको दिन बिदा दिने निर्णय गरेको थियो ।
मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार, बागमती प्रदेश राजपत्र खण्ड ८, सङ्ख्या ३२, भाग ३ मा प्रकाशित सूचनाको आधारमा बिदा दिने निर्णय कार्यान्वयनमा आएको हो । ती तीन जिल्लामा चेपाङ समुदायको बाक्लो बसोबास भएकाले पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ ।
न्वागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली तथा फलफूल पितृलाई चढाएर मात्र खाने परम्परा रहेको छ । उनीहरूका अनुसार पितृलाई अर्पण नगरी नयाँ बाली खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास छ ।
























