रांगोले अटोलाई ठक्कर दिँदा बालक घाइते
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ लोथर बजारमा रांगोले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक बालक घाइते भएका छन् ।
शनिबार बेलुकी करिब ७ बजेतिर लोथरबाट मनहरीतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह १५६० नम्बरको अटोलाई बाटो काट्ने क्रममा रांगो ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
स्थानीय ४० वर्षीय निरज कुँवरको गोठमा बाधी राखिएको रांगो गोठबाट फुत्किएर अटोलाई ठक्कर दिएको बताइएको छ । ठक्करपछि अटो पल्टिँदा अटोमा सवार मनहरी गाउँपालिका–७ बिजौना निवासी लक्ष्मी मोक्तानको पाँच वर्षीय छोरा आशिष मोक्तान घाइते भएका हुन् ।
घाइते बालकलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पुर्याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
























