जिम्बाडाँडा तथा तल्लोताल खानेपानीको अध्यक्षमा लुइँटेल निर्वाचित
हेटौंडा । हेटौंडा–११ स्थित जिम्बाडाँडा तथा तल्लोताल खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अनिरुद्र लुइँटेल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा लुइँटेलले ३०५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लालकृष्ण प्याकुरेलले २९७ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा धनबहादुर भण्डारी २९२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी शिवप्रसाद न्यौपानेले २७९ मत ल्याएका थिए । सचिव पदमा सुदर्शन बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सहसचिवमा कृष्णप्रसाद चौरेल २८६ मतसहित विजयी हुँदा लक्ष्मी बजगाईंले २५० मत प्राप्त गरिन् । कोषाध्यक्षमा प्रेमकुमारी चौलागाईं ३१६ मतसहित निर्वाचित हुँदा भगवती दुलालले २३५ मत प्राप्त गरिन् ।
समितिको सदस्य पदमा विद्या रेग्मी, मनिषा बिक, शर्मिला अधिकारी, बन्दना घिमिरे, नवीन तिमल्सिना र माधवप्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
समितिको ३२औँ साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । कुल ७२२ मतदाता रहेको समितिमा ६२९ जनाले मतदान गरेका थिए ।






















