मकवानपुरमा वन डढेलो व्यवस्थापन सप्ताह २०८२ प्रारम्भ
हेटौँडा । मकवानपुरमा वन डढेलो नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन सप्ताह–२०८२ सुरु गरिएको छ । सन् २०१३ मा १२,२२१ हेक्टर वन क्षेत्रमा डढेलो लागेकोमा २०२१ सम्म यस संख्या घटेर ६,९७९ हेक्टरमा पुगेको थियो । गत वर्षमा भने ५७४ हेक्टर वन क्षेत्र मात्र डढेलोबाट प्रभावित भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।
डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीका अनुसार पछिल्लो समय डढेलोको सम्भावना बढी हुने चैत १५ देखि वैशाख १५ सम्मको अवधिमा नियन्त्रणका लागि पूर्व तयारी र सामुदायिक वन समूहको योगदानले डढेलो घटेको बताए ।
तथ्याङ्क अनुसार जिल्लाको पूर्वी क्षेत्र बकैया र बागमती गाउँपालिकामा वन डढेलो बढी लाग्ने गरेको देखिएको छ । डढेलो न्यूनीकरणका लागि अग्नि रेखा निर्माण, मर्मत र सरसफाइका कामहरू भइरहेको छ । यस वर्ष २०० किलोमिटरभन्दा बढी अग्नि रेखा निर्माण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।
चैत्र १ गतेदेखि ७ गते सम्म संचालन हुने सप्ताहव्यापी कार्यक्रममा मकवानपुरका विभिन्न स्थानमा डढेलो न्यूनीकरणका लागि वन क्षेत्रमा नयाँ अग्नि रेखा निर्माण, पुराना अग्नि रेखाको मर्मत, वन क्षेत्र भएर जाने सडक तथा बाटो सरसफाइ, पत्कर हटाउने लगायतका कार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका फोकल पर्सन हेमकुमार पाठकले जानकारी दिए । ७० हजार हेक्टर वन क्षेत्र भएको यस जिल्लामा २११ सामुदायिक वन समूह र ८ सब–डिभिजन कार्यालय रहेका छन् ।






















