एमनेस्टी इन्टरनेसनल नेपाल समुह-६७ हेटौँडाको २७ औँ साधारण सभा सम्पन्न
हेटौँडा । एमनेस्टी इन्टरनेसनल नेपाल समूह–६७, हेटौँडाको २७ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
हेटौँडा–१० स्थित गोरक्षेश्वर क्षेत्र विकास समिति सभाहलमा आयोजित कार्यक्रममा समूहका संयोजक प्रलाद घिमिरेको सभाध्यक्षता भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष बिपिन बुडाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष प्रलाद घिमिरे तथा कोषाध्यक्ष प्रभा घिमिरेले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफल गर्दै आगामी कार्ययोजना तथा संस्थागत गतिविधिबारे समेत समीक्षा गरिएको थियो ।
कार्यक्रममा मानव अधिकारका क्षेत्रमा योगदान पुर्याउँदै आएका नबराज शर्मालाई इन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मान–२०८२ प्रदान गरिएको थियो ।
कार्यक्रमअन्तर्गत आयोजित मानव अधिकार शिक्षा प्रशिक्षणको सहजीकरण अधिवक्ता चुडा प्रसाद उप्रेतीले गरेका थिए । प्रशिक्षणमा मानव अधिकारको वर्तमान अवस्था, नागरिक अधिकार, सामाजिक उत्तरदायित्व तथा मानव अधिकार संरक्षणका विविध विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार जिबन काजी मकाजु, बिजेन्द्र अग्रवाल, उत्तम शर्मा ढकाल, हेमन्त ढुङ्गेल र प्रकाश ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव पूर्ण प्रसाद अर्यालले गरेका थिए भने सहसंयोजक आशा ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।























