परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत जादै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् । नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तामा आपसी हित, व्यापार, लगानी,कनेक्टिभिटी, ऊर्जा र पिपल टु पिपलु सम्बन्धका विषयमा छलफल हुनेछ । परराष्ट्रमन्त्री खनाल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उनी मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।
जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो ।























