मन्त्रिपरिषद् निर्णय : सुकुमवासीलाई मासिक १५ हजार उपलब्ध गराउने

काठमाडौँ । सरकारले उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुमवासी परिवारलाई मासिक १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले परिवारमा पाँच जनासम्म सदस्य भएमा १५ हजार र त्यो भन्दा बढी सदस्य भएमा थप दुई हजार उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रीपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका पाँच जना सदस्य भएको परिवारलाई १५ हजार रुपियाँ र त्यो भन्दा बढी सदस्य भएको परिवारलाई दुई हजार थप गरेर हाललाई तीन महिनाका लागि बसोवास खर्च उपलब्ध गराउने निर्णय भएको छ ।’

त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका खोला किनाराका सुकुमवासीको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापनाका लागि २५ हजार रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णयसमेत गरेको छ। सँगै सरकारले पुनस्थापना भएका परिवारका बालबालिकाको शिक्षाका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*