चित्लाङ-थानकोट सडक आइतबारदेखि बन्द
हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ ।
चित्लाङ–थानकोट मार्ग गणेशमान मार्ग निर्माण सुधारका क्रममा जेठ १७ गतेदेखि ३० गतेसम्म अर्थात् १४ दिनसम्म सवारी साधनको आवागमन बन्द गरिने भएको हो । निर्माण कम्पनीबाट सडक ढलान, कालोपत्र, टेवा पर्खाल निर्माणलगायतका निर्माण कार्य गर्न सवारी साधनको आवागमन बन्द गर्न लागेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।
थानकोट–चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेको र उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधनहरु आवतजावत गर्दा निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकोले सवारी आवागमन बन्द गरेर काम गर्न लागेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।
























