रास्वपा हेटौँडा नगर सभापतिमा महेन्द्र श्रेष्ठ निर्वाचित
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा हेटौँडा उपमहानगरपालिका नगर समितिको सभापतिमा महेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
आइतबार सुरु भएको निर्वाचन प्रक्रिया सोमबार सम्पन्न भएपछि श्रेष्ठ नगर सभापतिमा निर्वाचित भएका हुन् ।
रास्वपाको विधानअनुसार सभापति बन्न कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत नल्याएपछि पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच पुनः मतदान गरिएको थियो ।
पुनः मतदानमा श्रेष्ठले १७३ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी ध्रुव विष्टले ११९ मत प्राप्त गरे ।
नगर समितिको उपसभापतिमा सागर लामिछाने, सचिवमा प्रेम लामिछाने र सह–सचिवमा नरहरी चौलागाईं निर्वाचित भएका छन् ।
रास्वपाका अनुसार हेटौँडा नगर समितिमा चार पदाधिकारी र १५ सदस्यसहित १९ सदस्यीय कार्यसमिति रहनेछ । पार्टी विधानअनुसार थप दुई सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
यसैबीच, मनहरी गाउँपालिकामा आइतबार सम्पन्न अधिवेशन सर्वसम्मत रूपमा टुंगिएको छ । गाउँपालिका समितिको सभापतिमा गोविन्द सापकोटा चयन भएका छन् । उपसभापतिमा पप्पु थापा, सचिवमा कृष्ण ढकाल र सह–सचिवमा नारायण मैनाली चयन भएका छन् ।
रास्वपा मकवानपुरले जिल्लाका अन्य पालिकामा पनि अधिवेशनलाई निरन्तरता दिएको जनाएको छ । बिडारीका अनुसार इन्द्रसरोवर गाउँपालिकामा १३ गते र थाहा नगरपालिकामा १४ गते अधिवेशन हुने तय भएको छ । आगामी १६ गतेभित्र मकवानपुरका सबै पालिकामा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
























