विश्व वातावरण दिवसमा ‘बोतल देऊँ, बिरुवा लिऊँ’ अभियान

हेटौंडा । विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा ‘बोतल देऊँ, बिरुवा लिऊँ’ कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा–६ र १८ नम्बर वडामा सञ्चालन गरिएको कार्यक्रममा प्लास्टिकका १० वटा बोतल बराबर एक फलफूलको बिरुवा साट्ने कार्यक्रम गरिएको थियो । आयोजकका अनुसार दुई स्थानबाट ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ ।

स्थानीय बासिन्दाले प्रयोगपछि फालिएका प्लास्टिकका बोतल ल्याएर लिची, आँप, अम्बा, एभोकाडो, कागती लगायतका उन्नत जातका बिरुवा प्राप्त गरेका थिए ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।

हेटौंडा वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउन टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने बताए ।

आयोजकका अनुसार विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नगरका ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ । अभियानमार्फत एक हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*