हेटौँडा सिटी कलेजले ४० विद्यार्थीलाई बीबीएस निःशुल्क पढाउने

हेटौँडा । हेटौँडा-५ स्थित हेटौँडा सिटी कलेजले स्नातक तहको बीबीएस ब्याचलर अफ बिजनेस स्टडिज कार्यक्रममा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित चारवर्षे बीबीएस कार्यक्रमका लागि पहिलो वर्षदेखि चौथो वर्षसम्मको अध्ययन निःशुल्क गराइने जनाएको हो ।

कलेजका प्रबन्धक सुमन्त सिलवालले आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरिने बताए । ‘कसैलाई काखा र कसैलाई पाखा गर्ने छैनौं । तोकिएको कोटाअन्तर्गत सबैभन्दा पहिले भर्ना हुने ४० जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउनेछन्,’ उनले भने ।

कलेजका प्राचार्य श्रीबहादुर कार्कीले आर्थिक तथा विभिन्न कारणले उच्च शिक्षाबाट वञ्चित हुन पुगेका तर अध्ययनप्रति इच्छुक विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम ल्याइएको जानकारी दिए ।

उनका अनुसार निःशुल्क अध्ययनका लागि छनोट भएका विद्यार्थीलाई लेखा तालिम, कम्प्युटर प्रशिक्षणलगायत विभिन्न सीपमूलक तालिमसमेत उपलब्ध गराइनेछ। अध्ययन पूरा गरेपछि स्वरोजगार तथा रोजगारी सिर्जना गर्न सक्ने क्षमता विकासमा पनि कलेजले सहयोग गर्ने जनाएको छ। कक्षा १२ उत्तीर्ण गरी आवश्यक जीपीए प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने र अध्ययनसँगै सीप विकासमा विशेष जोड दिइने प्राचार्य कार्कीले बताए।

उनले त्रिभुवन विश्वविद्यालयले तोकेका परीक्षा फाराम तथा अनिवार्य शुल्कबाहेक अन्य कुनै शुल्क विद्यार्थीले तिर्नु नपर्ने स्पष्ट पारे। विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धिका लागि अतिरिक्त तयारी कक्षासमेत सञ्चालन गरिने कलेजको भनाइ छ । जिल्लाकै पहिलो आइटी कलेजका रूपमा स्थापना भएको हेटौँडा सिटी कलेजमा हाल विद्यालय तथा कलेज तहमा करिब १ हजार २ सय विद्यार्थी अध्ययनरत छन्। कलेजले आगामी वर्षहरूमा पनि बीबीएसमा निःशुल्क अध्ययन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*