न्यूनतम सेवा मापदण्डमा हेटौँडा अस्पताल देशकै उत्कृष्ट
हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यक्रमअन्तर्गत गरिएको अनुगमन तथा मूल्याङ्कनमा देशकै उत्कृष्ट अस्पताल बनेको छ ।
सेकेण्डरी ‘बी’ लेभलका अस्पतालहरूमध्ये हेटौंडा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य तथा प्रवक्ता उत्सव चौलागाईंका अनुसार बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको ‘न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिट’ मूल्याङ्कनमा हेटौंडा अस्पतालले सबैभन्दा बढी अंक प्राप्त गरेको हो ।
न्यूनतम सेवा मापदण्ड कार्यक्रमअन्तर्गत सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा, फोहोरमैला व्यवस्थापनसहित सहयोगी सेवाका विभिन्न सूचकका आधारमा हरेक वर्ष अस्पतालहरूको कार्यसम्पादन मूल्याङ्कन गरिन्छ। चालु आर्थिक वर्षको मूल्याङ्कनमा देशभरका सेकेण्डरी ‘बी’ लेभलका अस्पतालमध्ये हेटौंडा अस्पताल अग्रस्थानमा परेको चौलागाईंले जानकारी दिए ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार भक्तपुर अस्पताल ९३ प्रतिशत अंकसहित दोस्रो तथा त्रिशूली अस्पताल ८६ प्रतिशत अंकसहित तेस्रो स्थानमा रहेका छन् । यस्तै, धादिङ अस्पतालले ८० प्रतिशत, सिन्धुली अस्पतालले ७५ प्रतिशत र बकुलहर रत्ननगर अस्पतालले ७१ प्रतिशत अंक प्राप्त गरेका छन् ।
कार्यसम्पादन मूल्याङ्कन निर्देशिकाअनुसार ८६ देखि १०० प्रतिशतसम्म अंक प्राप्त गर्ने अस्पताललाई ‘उच्च गुणस्तरीय सेवा’ प्रदान गर्ने स्वास्थ्य संस्थाका रूपमा वर्गीकरण गरिन्छ ।
बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरेपछि सेकेण्डरी ‘बी’ समूहमा गरिएको यो दोस्रो मूल्याङ्कन हो । अस्पतालले सेवा विस्तारसँगै आधुनिक उपकरण, दक्ष जनशक्ति र व्यवस्थापन सुधारका कारण स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका प्रवक्ता चौलागाईंले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पतालको सम्पूर्ण टोली निरन्तर सेवा सुधारमा केन्द्रित रहेकाले यो उपलब्धि हासिल गर्न सम्भव भएको बताए ।

























